नवौँ राष्ट्रिय खेलकुद: सुरु भयो पोखरामा तयारी
पाेखरा | साउन १०, २०७९
कास्की: गण्डकी प्रदेशको राजधानी सहर पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरिएको छ ।
कोरोना महामारी र पछिल्लोपटक स्थानीय तह निर्वाचनका कारण पटक–पटक मिति सर्दै आएको राष्ट्रिय खेलकुद आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेश र मुख्यगरी पोखरामा आयोजना हुने निश्चित भएपछि तयारीका काम अघि बढाइएको छ ।
करिब चार दशकपछि गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको अवसर प्राप्त गरेको छ । विसं २०४० मा दोस्रो संस्करणको आयोजनापछि पोखरालाई नवौँ संस्करण आयोजनाको मौका जुरेको हो । पछिल्लो समय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रतियोगिताको मिति घोषणा गरेर जिम्मेवारी बाँडफाँट गरेसँगै स्थानीस्तरमा पनि खेल पूर्वाधार निरीक्षण, खेलाडी प्रशिक्षणलगायतका काम अघि बढेको छ ।
प्रतियोगिता सञ्चालनका लागि राखेपले गठन गरेको खेलस्थल व्यवस्थापन उपसमितिले केही दिनयता कास्कीका विभिन्न खेलमैदान तथा पूर्वाधारको निरीक्षण गरेको छ । सो उपसमितिका संयोजक एवं रोखप सदस्य राजेशकुमार गुरुङको नेतृत्वमा सहारा क्लबको फुटबल मैदान, पोखरा–१९ स्थित गोष्टेघाट खेलमैदान, माछापुच्छ्र गाउँपालिकाको महेन्द्र मावि खेलमैदान, हेमजाको गौरीशङ्कर खेलमैदान र नेपाली सेनाका खेलमैदान निरीक्षण गरिएको छ ।
संयोजक गुरुङले प्रतियोगिता पोखरा रङ्गशालामै सञ्चालन हुने भए पनि सहभागी टोलीको प्रशिक्षणलाई ध्यान दिएर अभ्यास मैदानको खोजी गरिएको बताउनुभयो । खेल पूर्वाधारका लागि पोखराका विभिन्न वडामा निर्माण सम्पन्न भएका कभर्डहल र खेलमैदानको भरपुर उपयोग गरिने छ । उहाँले भन्नुभयो, “देशको गौरवको रूपमा रहेको राष्ट्रिय खेलकुदलाई भव्यताका साथ सम्पन्न गर्नका लागि अहिलेदेखि नै तयारीका काम अघि बढाएका छौँ । खेलस्थलको अनुगमन सुरु गरेका छौँ, पूर्वाधार कस्तो अवस्थामा छन्, के–के काम गर्नुपर्ने हुन्छ भनेर अनुगमन गर्छौँ । प्रतियोगितामा सहभागी टोलीलाई अभ्यास र तयारीमा राम्रो सुविधा दिने योजना छ ।”
गण्डकी प्रदेश खेलकुद परिषद्ले पनि राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरेको छ । प्रतियोगिता आयोजनाको मुख्य जिम्मेवारी सङ्घ सरकार मातहतको राखेपको भए पनि आफ्नो प्रदेशमा हुने प्रतियोगितालाई सफल बनाउन प्रदेश खेलकुद परिषद्ले पनि काम अघि बढाएको हो । परिषद्को सोमबार सम्पन्न पूर्ण बैठकले नवौँ राष्ट्रिय खेलकुद तथा प्रदेशमा सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्ने गरी कार्य विभाजन गरेको सदस्यसचिव तेजबहादुर गुरुङले बताउनुभयो ।
उहाँका अनुसार खेलस्थल व्यवस्थापन, अनुशासन तथा प्राविधिक उपसमिति, बसोबास व्यवस्थापन, स्वास्थ्य, यातयात व्यवस्थापन, सुरक्ष, प्रचार प्रसार, खेल सामग्री तथा पोशाक व्यवस्थापनलगायतका समिति गठन गरी जिम्मेवारी तोकिएको छ । परिषद्ले खेल सञ्चालन कार्यविधि–२०७९ स्वीकृतिका लागि युवा तथा खेलकुद मन्त्रालयमा पठाउने निर्णयसमेत गरेको छ ।
राष्ट्रिय खेलकुदको तयारी तथा टिम छनोट तथा बन्द प्रशिक्षणका लागि करिब रु सात करोड खर्च लाग्ने अनुमान रहेको सदस्यसचिव गुरुङले बताउनुभयो । राष्ट्रिय खेलकुदमा दुई प्रदर्शनसहित ३८ खेल सञ्चालन हुने निर्णय यसअघि नै भइसकेको छ । अधिकांश खेल पोखरामा नै सञ्चालन हुनेछ । केही खेलको पूर्वाधार अझै पनि तयार हुनसकेको छैन ।
स्वीमिङ, सुटिङ र हक्की खेलको पूर्वाधार पोखरामा पनि छैनन् । पूर्वाधार नभएका खेल कहाँ खेलाउने भन्ने चिन्ता आयोजकलाई छ । प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेल सञ्चालन गर्ने योजना छ । लामो समयपछि हुन लागेको राष्ट्रिय खेलकुदको अपनत्व सबै प्रदेशवासीलाई दिन सबै जिल्लामा खेल आयोजना गर्न प्रस्ताव गरिएको भए पनि फुटबल, क्रिकेट, भलिबल, ह्यान्डबललगायत मुख्य–मुख्य खेलसहित अधिकांश खेल पोखरामा सञ्चालन हुने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “चार दशकपछि हुन लागेको प्रतियोगितामा सबैको अपनत्व होस् भनेर हामीले ३६ वटा खेलको खेलस्थल सिफारिस गरेर पठाएका छौँ । यसबारेमा राखेपले केही दिनमै निर्णय गर्ला । धेरैजसो खेल पोखरामै सञ्चालन हुने निश्चित छ ।” योगीका अनुसार प्रतियोगिता तयारीका लागि निर्माणाधीन खेल पूर्वाधार सम्पन्न गर्ने, भइरहेकाको स्तरोन्नति तथा प्रतियोगिताका लागि क्षमतावान् खेलाडीको खोजी, नयाँ खेलाडी उत्पादन र उनीहरूलाई प्रशिक्षण दिने गरी योजना निर्माण गरिएको छ ।
राष्ट्रिय खेलकूदको मुख्य आयोजनास्थल पोखरा रङ्गशालाभित्र ‘इन्डोर’ र ‘आउटडोर’ खेलका पूर्वाधार तयारी छन् । पोखरामा फुटबलको अन्तर्राष्ट्रिस्तरको रङ्गशाला, सुविधासम्पन्न बहुउद्देश्यीय कभर्डहल, ब्याडमिन्टन कोर्ट, भलिबल कोर्ट, टेनिस कोर्ट, क्रिकेट मैदानलगायत अधिकांश खेलका पूर्वाधार तयारी अवस्थामा रहे पनि केहीको मर्मत र स्तरोन्नति गर्नुपर्ने छन् ।
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

